बालबालिका भन्छन्–बिहानको चिसोमा कसरी पढ्ने ? नेता भन्छन् –हामीलाई मतलव छैन
बन्द भएको झण्डै सय दिनपछि तराईका केही विद्यालय खुल्न थालेका छन् । त्यो पनि बिहानको जाडोमा । अनि कतैबाट ढुङ्गामुढा र आक्रमणको डरमा । ढुसी परेका कक्षाको कुना र धुलैधुलो भएका बेञ्चमा लुगलुग काम्दै बसेका धेरै विद्यार्थीका अनुहारमा डरले डेरा जमाएको छ ।
जनकपुरको न्यु इंलिस बोर्डिङ स्कुलमा कक्षा दशमा पढ्ने अविरल कर्णलाई एसएलसी चौपट हुने पिरलोले गाँजेको छ । रातदिन मेहनत गरेर पढ्नुपर्ने बेलामा दिनभरी आन्दोलनकारीका नाचगान र ढुङ्गामुढा हेर्ने, अनि राति घरमा पुगेर सुत्ने दैनिकीले उनलाई भविष्य नै बिग्रने डर छ । ‘सयदिन विद्यालय बन्द हुँदा पहिला पढेको पुरै विग्रियो अब बिहानको सट्टा दिउँसो पनि विद्यालय चलाउन दिए त रामै्र हुन्थ्यो’ उनले भने ।बिहानै कक्षा सञ्चालन गर्दा टाढाबाट विद्यार्थी पनि नआउने र लोडसेडिङका कारण समस्या छ । बिहान ८ बजेदेखि कक्षा सुरु गर्दा जम्मा ३ घण्टा मात्र कक्षा चल्छ । अर्कोतिर इन्धन अभावका कारण विद्यालय बस नचल्ने समस्या त छँदैछ । शिक्षा नियमावलीमा एक सय ९२ दिन अनिवार्य कक्षा सञ्चालन हुनुपर्छ ।
तर भूकम्प, दसैँ तिहार र बन्दले एक सय दिन विद्यालय बन्द भइसके । यसकारण एसएलसी दिने चाहिने ७० प्रतिशत हाजिर नै नपुग्ने हो की भन्ने विद्यार्थीलाई चिन्ता छ ।
अभिभावकलाई पनि उस्तै चिन्ता छ । बाराका अभिभावक मुकेश कुमारले भन्नुभयो ‘बिहान विद्यालय खोल्न दिने मोर्चाको निर्णयले हामीलाई खासै फाइदा छैन बिहानको चिसोमा विद्यालयमा छोराछोरीले कसरी पढ्छन् ?’
शिक्षक र विद्यार्थीलाई झिसमिसेमै शित खाँदै स्कुल कसरी पुग्ने र पुर्याउने भन्ने समस्या छ भने विद्यालय सञ्चालकलाई त झन जाडोसँगै कसरी इन्धनको जोहो गर्ने अनि विद्यालयमा कसरी विद्यार्थीलाई सुरक्षा दिने भन्ने चिन्ता छ । लिटिल फ्लावर स्कुल जनकपुरका प्रध्यानाध्यापक इन्द्रदेव यादव भन्नुहुन्छ, ‘बिहान विद्यालय खुलेर के गर्नु बस चलाउने तेल छैन, ग्यास छैन, अनि विद्यालयमा सुरक्षा पनि छैन, लोडसेडिङको समस्याले त झन हैरान छ, त्यसैले दिउँसोमा विद्यालय खुले धेरै राम्रो हुने थियो ।’
तर यो चिन्ता विद्यार्थी शिक्षक र अभिभावकको मात्र हो । आन्दोलनको नेतृत्व गर्ने नेतालाई त विद्यालय बन्द भएकोमा कुनै पछुतो छैन । आन्दोलनको बेला दिउँसो भन्दा बिहान स्कुल खुल्दा नै ठीक हुने उनीहरुको तर्क छ ।
सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्ण भन्नुहुन्छ, ‘विद्यालय हामीले बन्द गराएको होइन सरकारले गराएको हो हामीले त मानवीयताका आधारमा बिहान विद्यालय खोल्न दिएको हो ।’
दिउँसोमा विद्यालय खुल्दा आक्रमण र तोडफोडको डर भएकाले बिहान स्कुल खुलाउने निर्णय उत्तम भएको कर्णको भनाई छ । विद्यार्थीको हाजिर नपुग्ने आफूहरुको सवाल नभएको भन्दै कर्णले भन्नुभयो, ‘हाजरी हामीले पुर्याउने होइन विद्यालय र सरकारको कुरा हो उनीहरुले जसरी भएपनि पुर्याउनैपर्छ ।’

No comments