सरकारी भण्डारमा ३ करोड १७ लाख कण्डम
भारतीय नाकाबन्दीका कारण जीवन रक्षक औषधिकोसमेत चरम अभाव सुरु भएका बेला सरकारी भण्डारमा परिवार नियोजनको अस्थायी साधन कण्डम भने पर्याप्त छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संसदको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्ध समितिमा हालै बुझाएको औषधि विवरणमा कण्डमको पर्याप्त भण्डारण रहेको उल्लेख छ ।स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा. भीमसिंह तिंकरीका अनुसार सरकारी भण्डारमा सबैभन्दा धेरै मौज्दात कण्डमकै छ ।
उनका अनुसार हाल केन्द्र, आपूर्ति महाशाखा र क्षेत्रीय स्वास्थ्य कार्यालयहरुको स्टोरमा गरी कुल ३ करोड १७ लाख ४० हजार ६ सय ६४ थान कण्डम मौज्दात छ । डा. तिंकरीले सरकारले नेपालमा बिक्री वितरणका लागि अनुमति दिएका कुल ७४ प्रकारका औषधिमध्ये सात प्रकारका जीवन रक्षक औषधिको भण्डारण भने कम छ ।
अहिलेकै मागमा अन्य औषधि भने आगामी दुई महिनासम्मका लागि पुग्ने छ ।
‘बाहिर प्रचार भएजस्तो सामान्य औषधिकै अभावमा बिरामीको ज्यान जाने अवस्था होइन’, उनले भने, ‘हाम्रो स्टोरमा दुई महिनाका लागि पुग्ने औषधि छ ।’
यद्यपि इनधन अभावमा ढुवानी हुन नसक्दा जिल्ला जिल्लाका स्वास्थ्य र उपस्वास्थ्य चौकीहरुमा पर्याप्त औषधि पुग्न नसकेको उनले बताए ।
तिंकरीका अनुसार सरकारी भण्डारमा डिपो प्रोभेरा दुई ६ लाख २० हजार १ सय ९८ थान, पिल्स २१ लाख ६२ हजार २ सय ९० थान, इम्प्लान्ट ३५ हजार ६ सय ८ थान, ४ सय एमजीको अबलेण्डाजोल २ करोड ८१ लाख ९१ हजार ४ सय २ ट्याब, भिटामिन ‘ए’ १३ लाख २२ हजार ३ सय ९० क्याप्सुल, एमोक्सिसिलिन १ सय एमजीको १ लाख ३१ हजार ९ सय, १ सय २५ एमजीको ४ लाख ४१ हजार मौज्दात छ ।

No comments