Breaking News

दसगजालाई तस्करी केन्द्र बनाउँदै भारतीय व्यापारी

घरको ग्यास सकिएपछि वीरगन्ज घडीअर्वाका हरिशंकर साह कानु खाली सिलिन्डर लिएर शनिबार सीमापारि रक्सौल पुगे। त्यहाँ उनले भारतीय सिलिन्डरबाट प्रतिकेजी दुई सय रुपैयाँ (एक सय २५ भारु) का दरले १४ केजी ग्यास आफ्नो सिलिन्डरमा भरे।
‘वीरगन्जमा १३ सय ८० रुपैयाँमा पाइने ग्यासलाई २८ सय तिर्नुपर्‍यो’, उनले भने, ‘बाटोमा एसएसबी (भारतीय सीमा सुरक्षा बल) ले पनि दुःख दियो।’ एक सय दिन लामो बन्द, हडताल र दुई महिनादेखिको नाकाबन्दीका कारण वीरगन्जमा खाना पकाउने एलपी ग्यासको चरम अभाव छ।
वीरगन्जमा अभाव भएपछि नेपाली उपभोक्ता खाली सिलिन्डर बोकेर सीमापारि रक्सौल पुगेर दोब्बर भाउमा ग्यास खरिद गर्न बाध्य छन् । वीरगन्जसँग सीमा जोडिएको रक्सौल र दसगजा क्षेत्रमा भारतीय ग्यासको कालोबजारी गर्नेहरू बिहानैदेखि भारतीय कम्पनीका भर्ती ग्यास सिलिन्डर लिएर नेपाली ग्राहक कुरिरहेका हुन्छन्।
साइकल र मोटरसाइकलमा खाली सिलिन्डर बोकेर गएका नेपाली उपभोक्ता दोब्बर भाउमा ग्यास भर्न बाध्य छन्। ग्यास लिन सीमापारि जाने क्रममा नेपाली उपभोक्तालाई दसगजामा खटिएका भारतीय सुरक्षाकर्मीले अनेक बहानामा सास्ती दिने गरेका छन् । भारतको रक्सौलमा एक सिलिन्डर ग्यासको सरकारी अनुदान मूल्य सात सय ७० भारु पर्छ।
सीमावर्ती सहर रक्सौलको पन्टोकामा पुगेर तीन हजार ६ सय रुपैयाँमा एक सिलिन्डर भारतीय ग्यास किनेका वीरगन्ज अशोकवाटिकाका सुग्रिम सर्राफले भने, ‘आधा तलब त ग्यासमै सकियो। अब बाँकी आधा तलबले महिना दिनको जोहो कसरी गर्ने?’ व्यापारिक फर्ममा कार्यरत सर्राफको मासिक तलब जम्मा आठ हजार एक सय रुपैयाँ छ। यो आन्दोलनले सबैभन्दा बढी पीडित मधेसकै जनता छन्’, उनले भने, ‘यस्तो हरिबिजोग त दुस्मनलाई पनि नहोस्।’
वीरगन्जमा ग्यासको चरम अभाव भएको मौका छोपेर सीमावर्ती भारतीय सहर रक्सौलका कारोबारीले भारतीय कम्पनीको ग्यासको खुलेआम तस्करी पनि गरिरहेका छन्। रक्सौलको पन्टोका र टुमरिया टोल तथा दसगजासँग जोडिएको वीरगन्जको छपकैयामा दिनदहाडै ग्यासको तस्करी भइरहेको छ।
पन्टोका, टुमरिया टोल र छपकैयाका सर्वसाधारणको घरदेखि लिएर पानपसल र किराना पसलमा समेत भारतीय कम्पनीका ग्यास नेपाली सिलिन्डरमा खन्याएर खरिदबिक्री गर्नेहरूको घुइँचो लाग्छ। ‘भाउको त कुरै नगर्नुस्, फेला पारेजति लिन्छन्’, बजार छपकैयाका सन्तोष महराले भने, ‘चार हजार रुपैयाँसम्म लिएको मैले देखेको छु।’
रक्सौलबाट ग्यास ओसार्दै आएका भारतीय नागरिक जगरनाथ कुशवाहाले एक सिलिन्डर ग्यासमा कम्तीमा पनि सातआठ सय रुपैयाँ नाफा हुने बताए। रक्सौलबाट दिनहुँ एक हजारको हाराहारीमा भारतीय कम्पनीका ग्यास सिलिन्डर वीरगन्जमा अवैध रूपमा भित्रिने गरेको छपकैयाका दिनेश गुप्ताले बताए।
कारोबारीले भारतका इन्डेन, एचपी, नमस्ते, भारतनामक कम्पनीका भर्ती ग्यास सिलिन्डर वीरगन्जमा अवैध रूपमा भित्र्याएर महँगो भाउमा बिक्री गर्दै आएका हुन्। उनीहरूले एक सिलिन्डर ग्यास तीन हजार दुई सयदेखि चार हजार रुपैयाँसम्ममा नेपाली कम्पनीका सिलिन्डरमा खन्याएर बेच्ने गरेका छन्।
‘रक्सौलबाट भारतीयहरूले साइकलमा भर्ती ग्यास सिलिन्डर लिएर आउँछन्’, बजार छपकैयाका भरत केवटले भने, ‘त्यही ग्यास यहाँका व्यापारीहरूले नेपाली सिलिन्डरमा खन्याएर चार हजारसम्ममा ग्राहकलाई बेच्छन्।’ग्यास लिन जितपुर, सिमरा, हेटौंडासम्मका उपभोक्ता आउने गरेको बताउँदै उनले अन्नपूर्णसँग भने, ‘बिहानतिर आउनुभयो भने यहाँ ग्यास किन्ने र बेच्नेहरूको मेला नै लागेको देख्नुहुन्छ।’
भारतीय कम्पनीका ग्यासको दिउँसै तस्करी भइरहे पनि सीमानाकामा खटिएका प्रहरीले कुनै रोकटोक गरेका छैनन्। भारतको रक्सौलसँग जोडिएको बजार छपकैयामा प्रहरीचौकी पनि छ।
दसगजा क्षेत्रनजिकै सशस्त्र प्रहरीका करिब एक दर्जन सुरक्षाकर्मी पनि बिहानदेखि बेलुकासम्म तैनाथ रहन्छन्। तर उनीहरूकै सामु भारतीयहरूले साइकल र मोटरसाइकलमा भारतीय ग्यासका सिलिन्डर निर्वाध रूपमा नेपाल भित्र्याउने गरेका छन्।
‘पारिपट्टिका एसएसबीले एक सिलिन्डरको ५० रुपैयाँ लिन्छन्’, ग्यासको तस्करीमा संलग्न एक भारतीयले भने, ‘यता नेपालको बोर्डरमा खटिएका सशस्त्र प्रहरीले पनि ५० रुपैयाँ नै लिन्छन्। जनपद प्रहरीलाईचाहिँ २० रुपैयाँ दिए पुग्छ।’
पर्साका प्रहरीउपरीक्षक राजुबाबु श्रेष्ठले भने तस्करसँग प्रहरीले पैसा असुलेको बारेमा आफूलाई कुनै सूचना नभएको बताए। ‘अहिलेसम्म मलाई थाहा छैन’, उनले भने, ‘अब म पनि यसबारेमा छानबिन गर्छु। पुलिसले पैसा लिएको पुष्टि भयो भने कारबाही गर्छु।

No comments